काठमाडौं । रामेछापकाे दोरम्बा-शैलुङ गाउँपालिका-३ लेकखर्क स्थित पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको छ । ३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए ।

‘पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ। त्यो घरका सबै बेपत्ता छन्,’ न्यौपानेले नेपालखबरसँग भने, ‘पहिरोले बगाएको ३ वटा घरमा कति मान्छे थिए खुलेको छैन । हाम्रो टोली भर्खरै घटनास्थलमा पुगेर उद्धारमा खटिएको छ ।’ दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति साढे ३ बजे पहिरोले चार घर बगाएको उनले बताए । केही बेरअघि रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले पहिरोमा ८ जना बेपत्ता भएको जानकारी दिएका थिए । तर, सूचना अधिकारी न्यौपानेले भने बेत्ताहरुको यकिन गर्न बाँकी रहेको बताए ।

‘पहिरोले ३ वटा घर पूर्णरुपमा र एउटा घरमा आंशिक क्षति गरेको छ,’ उनले भने, ‘आंशिक क्षति भएको घरबाट ३० वर्षीया चण्डीका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव फेला परेको हो। सोही घरबाट अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेको घटनास्थल नजिकै चिकित्सकको टोलीले  उपचार सुरु गरिसकेको छ ।’

इन्सपेक्टर न्यौपानेले स्थानीयले ३ घरका सबै बेपत्ता भएका भनेर जानकारी गराएको बताए ।  ‘तीनवटा घरमा कति मान्छे बस्थे खुलेको छैन। बेपत्ताको खोजतलास जारी छ। तीनवटा घरमा बस्ने सबै बेपत्ता भएका छन् म ८ जना हुन् कि कति हुन् यकिन भन्न सक्ने अवस्था छैन ।’

घटनास्थलमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहित तीनवटै सुरक्षा निकायका प्रमुख जाँदैछन् । घटनास्थल रामेछाप सदरमुकाम मन्थलीबाट झण्डै ५० किमी टाढा पर्छ ।