हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१०, बसपार्कस्थित एक होटेलमा युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छिन । मृतक युवती हेटौँडा-११, थानाभञ्ज्याङ घर भएकी एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार न्यौपानेको शव हेटौँडा-१०, भुटनदेवी मन्दिररोडस्थित रत्न होटेलको कोठा नम्बर २०५ मा फेला परेको हो । प्रवक्ता भण्डारीले शवको प्रकृति र कोठाको अवस्था हेर्दा युवतीको मृत्यु शंकास्पद रहेको बताए ।
उनका अनुसार सोमबार बिहान अबेरसम्म पनि ढोका नखुलेपछि होटेल सञ्चालकले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक न्यौपानेको आँखामा चोट लागेको र कोठा रक्ताम्य पाइएको थियो।
प्रहरीका अनुसार न्यौपाने आइतबार अपराह्न ५ बजेतिर एक युवकसँग होटेलमा आएका र ती युवक राति करिब ९ बजे होटेलबाट बाहिरिएको सिसिटिभी फुटेजमा देखिएको छ। होटेलमा सँगै आएका युवकले नै न्यौपानेको हत्या गरेर कोठाको ढोकाभित्रबाट बन्द गरी झ्यालबाट बाहिर निस्केको प्रहरीको अनुमान छ ।
उनीहरूले होटेलमा टिपाएको मोबाइल नम्बर गलत रहेको पाइएको छ। मृतक न्यौपानेको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।