काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिषका अनुसार शनिबार बिहान साढे ११ बजे पार्टी कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बोलाइएको हो ।
उनका अनुसार पाँच कार्यसूचीमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्दैछ । समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडालिटीबारे बैठकमा छलफल हुनेछ । त्यसैगरी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टी परिचालन र विविध प्रस्तावमाथि छलफल हुने पनि झाले बताए ।
सहकारी ठगी, संगठित अपराधको अभियोगमा पार्टी सभापति लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेको छ । उनीमाथि तेस्रोपटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पार्टीले विचार मिल्ने दलहरूसँग यसबारे संवाद गर्ने, धारणा बुझ्ने निर्णय पनि गरिसकेको छ । केन्द्रीय समिति बैठकले त्यसबारे थप छलफल गरेर संघर्षको कार्यक्रम तय गर्न लागेको हो ।