बाइडेनको निर्णयले बढाएको हो, आणविक युद्धको खतरा ?
अमेरिकामा बाइडेनको सरकारले युक्रेनलाई रुसमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएको छ । यसप्रति रुसले कडा प्रतिक्रिया दिँदै उचित जवाफ दिने बताएको छ । संशोधित आणविक नीतिमा हस्ताक्षर गर्ने पुटिनको कदमलाई पनि बाइडेनको निर्णयको प्रतिक्रिया मानिएको छ । रुसको नयाँ आणविक नीतिमा रुसमाथि ठूलो मात्रामा हवाई आक्रमण भएमा रुसले जवाफमा आणविक हतियार प्रयोग गर्न सक्ने प्रावधान छ ।
यसअघि पनि युक्रेनी सेनाले अमेरिकी लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्दै आएको थियो तर, यो प्रयोग सीमा क्षेत्रमा मात्र सीमित थियो । अब सत्ता छोड्नै लाग्दा बाइडेनले ठूलो निर्णय लिएर युक्रेनलाई रुसभित्र पनि लामो दुरीका मिसाइलले आक्रमण गर्ने अनुमति दिएका छन् ।
यो स्वीकृतिसँगै रुसको सैन्य अड्डा, सैन्य प्रतिष्ठान र अन्य महत्वपूर्ण लक्ष्य युक्रेनको निशानामा परेको विज्ञहरुको विश्वास छ । यसले रुस-युक्रेन युद्धको सम्पूर्ण तस्वीर बदल्न सक्ने विश्लेषण आइरहेका छन् । रुसले अमेरिकाको कदमको आलोचना गर्दै यसलाई युद्ध भड्काउने प्रयास भनेको छ ।
-एजेन्सी/रातोपाटी