काठमाडौं । प्रेस काउन्सिल नेपालले अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गरेको छ ।
तीमध्ये अधिकांश सामाजिक सञ्जाल दर्ता सूचीकरण नगरी सञ्चालनमा रहेका छन् । मिडियाअन्तर्गत दर्ता सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न साइबर ब्युरोमा पत्राचार गरेको छ । पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको छ ।
अनुगमनाका क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकतासहित स्थान दिइ प्रकाशन प्रसारण गर्ने युट्युब च्यानल प्रयोगकर्तामाथि काउन्सिलले पछिल्लो समय कार्यविधि बनाइ कारबाही प्रक्रियाअघि बढाएको छ ।
गत मङ्सिर ४ गते यस्तै खालका ९ युट्युब च्यानल र पेज प्रयोगकर्तालाई काउन्सिलले कारबाही गरेको थियो ।