काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनको बयान सुरु भएको हो ।
सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग पनि प्रहरीले बयान लिइसकेको छ । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौंमा ल्याएर बयान लिइएको छ । ओखलढुङ्गा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।
लामिछानेलाई हिजो कास्कीबाट काठमाडौं ल्याइ भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो ।