हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलसँगै बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।

त्यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा त्यहाँका तापक्रम माइनसमा झरेको छ भने अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ ।