हेटौँडा । मकवानपुर प्रहरीले अवैध हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-१५ स्थित पूर्व-पश्चिम राजमार्गमा जाँचको क्रममा अटोमेटिक पेस्तोलसहित भारत बिहारका २२ वर्षीय धीरज कुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमारलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार ना.८ख ८७७३ नम्बरको बस रोकी चेकजाँच गर्दा उनीहरूको साथबाट एक राउन्ड गोली लोड भएको ९ एमएमको अटोमेटिक पेस्तोल र थप दुई राउन्ड गोली बरामद गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हतियार हेटौँडामा कसैलाई हस्तान्तरण गर्न ल्याइएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।