काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारी मिलेर क्रिप्टो कारोबारीको १४ लाख रुपैयाँ लुटपाट गरेको घटना सार्वजनिक भएको छ । प्रहरीको परिचयपत्र र हत्कडी देखाएर लुटपाट गरेको आरोपमा नेपाल प्रहरीका दुईजना र सशस्त्र प्रहरीका एकजना सहित ६ जनालाई पक्राउ गरिएको हो ।

सोमबार काठमाडौं महानगरपालिका-३, तिलिङेटारमा भएको उक्त घटनामा नेपाल प्रहरीका सहायक हवल्दार बाँके बैजनाथका खगेन्द्र मल्ल ठकुरी, प्रहरी जवान खोटाङ रावाबेंशीका हिरा मंग्राती, सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका राजेन्द्र कुमार केसी संलग्न रहेको खुलेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पक्राउ गरेको छ ।

त्यस्तै, लुटपाटमा सघाएको आरोपमा मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ, र मोरङकै मनिस कुमार रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, रोशन गुरुङले क्रिप्टो कारोबार गर्ने गरेको सूचना पाएपछि पक्राउ परेका प्रहरीसहितको समूहले उनलाई मुद्दामा फसाइदिने भन्दै १४ लाख रुपैयाँ लिएर छाडेका थिए । पक्राउ परेकाहरूको साथबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ बरामद गरेको छ ।

यसैबीच, प्रहरीले क्रिप्टो कारोबारी गुरुङलाई समेत पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनले एक करोड ८७ लाख ७ हजार बराबरको क्रिप्टो कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।