काठमाडौं । मकवानपुरको कैलास गाउँपालिका-६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर तस्करहरु फरार भएका हुन् ।
हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एकजना अधिकृतले बताए । सोमबार मध्यान्ह प्रहरीलाई देखेर २ केजी अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए ।
अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहले घेरा हालेर प्रहरीलाई कुटपिट समेत गरेर पेस्तोल लुटेर भागेका हुन् । ७ राउण्ड गोली लोड भएको टाइप-५४ पेस्तोल लुटपाट भएको जिप्रका मकवापुरका अधिकृतहरु बताउँछन् ।
तस्करहरुको खोजीमा ईप्रका पालुङका इन्स्पेक्टर सविनबावु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल र धादिङस्थित ईलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं सहित ६० जना प्रहरी खटिएका छन् ।