काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलको सङ्ख्या घटाउँदै सुरक्षाकर्मीको सेट परिवर्तन गरेको छ।

गृह मन्त्रालयका अनुसार पूर्वराजाले पूर्वअतिविशिष्ट व्यक्तिलाई तोकिएको सुरक्षाभन्दा अतिरिक्त सुविधा लिँदै आएका थिए। अब भने उनलाई पूर्वराष्ट्रपतिले पाउने सुरक्षासुविधा अनुरूप १६ सुरक्षाकर्मी मात्र उपलब्ध गराइनेछ। यसअघि उनलाई २५ सुरक्षाकर्मी खटाइएको थियो।

पूर्वराजाको सुरक्षामा तैनाथ प्रहरी टोली परिवर्तन गर्दै प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमोदप्रकाश पाठक नेतृत्वमा नयाँ टोली खटाइएको छ।

शुक्रवार काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले पूर्वराजाका गतिविधिमा निगरानी बढाउँदै कानुनअनुसार सुविधा कटौती गर्ने तयारी गरिरहेको छ।