काठमाडौं । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकामा लागुऔषध तस्करीको टोलीले लुटिएको पेस्तोल जंगलमा भेटिएको छ ।
कैलाश गाउँपालिका-६ दुम्सीखर्चको जंगलमा सोमबार दिउँसो लुटिएको ७ राउण्ड गोली लोड भएको टाइप-५४ पेस्तोल वडानम्बर १ को बोल्नेलेकको जंगलमा मंगलबार बिहान १० बजे भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुम्सीखर्कबाट बोल्नेलेक जंगलको बाटो धादिङको गजुरी जान प्रयोग हुने उनले बताए ।
कैलाश गाउँपालिकाबाट लागुऔषध अफिम तस्करी भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मंग्राती दुम्सीखर्कको जंगलमा गएको डिएसपी अर्यालले बताए । जंगलमा तस्करीको टोलीसँग जम्का भेट हुँदा मुक्कामुक्कीको अवस्था भएको र तस्करहरुले हवल्दार तामाङको साथबाट पेस्तोल लुटेको उनले जानकारी दिए ।
मोटरसाइकलमा २ केजी अफिम बोकेर आएका २ जनाले थप १० जनाको समूह बोलाएको डिएसपी अर्यालले बताए । उनका अनुसार मोटरसाइकलमा २ जना मात्रै आएछन् । प्रहरीलाई देखेपछि थप १० जना बोलाइएको रहेछ । जम्काभेट हुँदा तस्करीको टोली र प्रहरीबीच मुक्कामुक्की भएको थियो । त्यसपछि उनीहरु पेस्तोल लुटेर भागेका थिए ।
तस्कर टोलीको पहिचान हुन नसकेको अर्यालले जानकारी दिए । डिएसपी अर्यालसहितको टोली सोमबार नै त्यसतर्फ पुगेको थियो । लागुऔषध तस्करीमा संलग्न रहेका आरोपितको खोजीमा डीएसपी अर्याल, इप्रका पालुङका प्रहरी निरीक्षक सविनबावु अर्याल, मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटा र धादिङस्थित इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुमन चापागाईंको टोली खटिएको थियो ।
मकवानपुरको कैलाश गाउँपालिकामा लागूऔषध गाँजा उत्पादन हुने गरेको छ । त्यहाँबाटै अफिम तस्करी हुने गरेको प्रहरीसँग सूचना छ । कैलाशमा यसअघि पनि प्रहरी र तस्कर समूहबीच घम्साघम्सी हुने गरेका थिए ।