काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आक्रमण रोकेर वार्तामा आउन आग्रह गरेका छन् । अन्यथा अमेरिकाले सम्पूर्ण सैन्य शक्ति प्रयोग गरेर इरानमाथि आक्रमण गर्ने उनको चेतावनी छ ।
मध्यपूर्वमा इरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण सुरु भएपछि ट्रम्पले यस्तो चेतावनी दिएको हो । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रूथमा पोस्ट गर्दै भनेका छन्, ‘‘यदि हामीमाथि कुनै पनि प्रकारले इरानबाट आक्रमण भयो भने, अमेरिकी सशस्त्र सेनाको सम्पूर्ण शक्ति र कठोर प्रतिकार तपाईंहरू माथि त्यसरी खनिन सक्छ, जुन इतिहासमै कहिल्यै देखिएको छैन ।’ इजरायलले शनिबार इरानको राजधानी तेहरानस्थित रक्षा मन्त्रालयको मुख्यालय र बुसहर प्रान्तको साउथ पार्स ग्यास प्रशोधन केन्द्रमा आक्रमण गरेर क्षति पुर्याएको छ । राष्ट्रपति ट्रम्पले इरानमाथिको इजरायली आक्रमणमा अमेरिकाको कुनै हात नरहेको दाबी गरेका हुन् ।
ट्रम्पले भनेका छन्, ‘म सजिलैसँग इरान र इजरायलबीच सम्झौता गराएर यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छु ।’ आइतबार इरानले तेहरान र वाशिंगटन डीसीबीच चलिरहेको छैटौं चरणको आणविक वार्ता रद्द गरेको छ । इजरायली आक्रमणपछि अब अमेरिकासँगको वार्ताको ढोका बन्द भएको इरानको भनाइ छ ।
शनिबार इरानले इजरायललाई थप सहयोग नगर्न अमेरिका, यूके, फ्रान्सलाई चेतावनी दिएको थियो । यदि त्यसो गरेमा मध्यपूर्वका देशमा रहेका अमेरिकी सैन्य अड्डा र पूर्वाधारलाई निसाना बनाउने इरानले चेतावनी दिएको थियो ।

