काठमाडौं । सुनचाँदी क्षेत्रमा गरिएको करको विरोधमा देशभरका व्यवसायी र कालिगढहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ, नेपाल हस्तकला महासङ्घलगायतका संस्थाहरूको आह्वानमा सोमबार देशभरका पसल बन्द गरिएका हुन्।

व्यवसायीहरूका अनुसार सरकारले सुनचाँदीमा लगाएको कर व्यापारमै संकट उत्पन्न गर्ने खालको रहेको छ। उनीहरू कर फिर्ता लिनुपर्ने मागसहित सडकमा उत्रिएका छन्। आन्दोलनमा व्यवसायी मात्र नभई सुनचाँदी निर्माणमा संलग्न कालिगढहरू पनि सहभागी भएका छन्।

महासङ्घहरूले सरकारसँग तुरुन्त संवाद गरी कर नीति पुनरावलोकन गर्न माग गरेका छन्। उनीहरूले माग पुरा नभए चरणबद्ध रूपमा आन्दोलन अझ चर्काउने चेतावनी दिएका छन्। व्यवसायीहरूको आन्दोलनका कारण धेरै स्थानमा सुनचाँदी पसल बन्द रहँदा उपभोक्ताहरू पनि प्रभावित भएका छन्।