काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका-५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका-४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन् ।
पक्राउ परेका दीपाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख ५० हजार रुपैयाँ र व्रिजेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले दीपालाई बुढानिलकण्ठ नगरपालिका-११ बाट शनिवार र व्रिजेशलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका दीपालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

