सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठूलो परिमाणमा नक्कली नेपाली नोट र लागूऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एकजना सञ्चार संस्था सञ्चालन गर्ने सञ्चालकसमेत रहेका छन्।

प्रहरीका अनुसार असार ३० गते राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलमा खटिएको प्रहरी टोलीले गुप्त सूचनाका आधारमा जाजरकोटकी दिलमाया सिंह ठकुरीलाई रु १,००० दरका ६ थान नक्कली नोटसहित पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा दिलमायाको डेरा र सोही टोलमा बसोबास गर्ने रामबहादुर सिंहको कोठाबाट थप १,२३६ थान नक्कली नोट बरामद गरिएको छ। ती नोटको कुल मूल्य करिब १२ लाख ३६ हजार रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।

असार ३१ गते प्रहरीले कृष्णबहादुर वली र प्रेमबहादुर बिकलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूको डेरामा खोजतलास गर्दा ११ पोका अफिमजस्तो देखिने गिलो पदार्थ फेला परेको छ, जसको तौल ११ केजी ३७२ ग्राम रहेको छ।
यसै क्रममा प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ स्थित जनगर्जन नेटवर्क प्रा.लि. नामक सञ्चार संस्थामा छापा मारेको छ। सो कार्यालयका सञ्चालक मनबहादुर सहकारीलाई प्रहरीले पक्राउ गरेको हो। उनको कार्यालय तथा निवासबाट रु १,००० दरका ५१ थान नक्कली नोट, १९ केजी ३०० ग्राम अफिमजस्तो पदार्थ, Canon प्रिन्टर, कम्प्युटर, क्यामेरा लगायत नक्कली नोट बनाउन प्रयोग गरिने उपकरणहरू बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका पाँच जनामध्ये दिलमाया सिंह ठकुरी (२२) र रामबहादुर सिंह (३३) जाजरकोटको कुशे गाउँपालिका–५ निवासी हुन्। अन्य तीनमध्ये कृष्णबहादुर वली (३५) सुर्खेतको भेरीगंगा नगरपालिका–१२ निवासी हुन् भने प्रेमबहादुर बिक (३८) को ठेगाना सार्वजनिक गरिएको छैन। मनबहादुर सहकारी (३४) बाँकेको कोहलपुर नगरपालिका–११ निवासी हुन्।
प्रहरीका अनुसार पक्राउ परेकामाथि लागुऔषध र जाली नोट कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। घटनामा अन्य व्यक्ति संलग्न हुनसक्ने आशंकामा थप अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ।


