इरानलाई परमाणु वारहेड दिने रुसको घोषणा

१० महिना अगाडि १० महिना अगाडि १० महिना अगाडि

काठमाडौं । अमरिकाले इरानका परमाणु ऊर्जा केन्द्रहरुलाई निसाना बनाएपछि रुसले कडा प्रतिक्रिया दिएका छन् । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले अमेरिकालाई चेतावनी दिँदै इरानलाई परमाणु वारहेड दिन तयार रहेको बताएका छन् ।

मेदभेदेवले अमेरिकी हमला असफल भएको र इरानको परमाणु संरचना सुरक्षित रहेको समेत सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दाबी गरेका छन् । उनले यो हमलाले अब इरानको परमाणु महत्त्वाकांक्षालाई रोक्नुको साटो झनै तीव्र पार्नेसमेत उल्लेख गरेका छन् ।

उनले अमेरिकाको सैन्य र कूटनीतिक रणनीति उल्टो परेको भन्दै इरानको सत्ता झनै बलियो बन्ने बताएका छन् । युक्रेन युद्धमा रुसलाई ठूलो मात्रामा ड्रोन, मिसाइल र अन्य हतियारले सहयोग गरेको इरानलाई इजरायलविरुद्धको युद्धमा रुसले सहयोग गरेमा युद्ध झनै भयानक हुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

इरानले इजरायलमाथि सोमबार पनि १५ भन्दा बढी ब्यालिस्टिक मिसाइलले हमला गरेको छ । करिब ४० मिनेटमा इरानले इजरायलमाथि लगातार मिसाइल प्रहार गरेको हो । इरानले इजरायलका सफेद, तेल अभिभ, अश्कलोन, अशदोद र बेइसन शहरमा रकेटले निसाना बनाएको जनाएको छ । इरानी हमलापछि इजरायलका केही शहरमा विद्युत् आपूर्ति ठप्प भएको जनाएको छ । इजरायल इलेक्ट्रिक कर्पोरेसनले एक रणनीतिक संरचनामा हमला गरेको र शहरमा विद्युत् आपूर्ति ठप्प भएको पुष्टि गरेको छ ।

इरानले इजरायली सेनासँग सम्बन्धित कम्पनीमा साइबर हमलासमेत गरेको छ । सो साइबर हमलाबाट इजरायलका सैन्य र परमाणु अड्डाबारे जानकारी प्राप्त भएको र भविष्यमा हमला गर्ने सम्भावित स्थान भएको इरानले जनाएको छ । इरानी हमलाको जवाफमा इजरायलले पनि तेहरानमा जवाफी हमला गरेको दाबी गरेको छ ।