एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले एक भिडियो सन्देशमार्फत् अमेरिकाले इरानसँगको युद्धबाट केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारेका छन्।

राज्य सञ्चालित टेलिभिजनमा प्रसारित सन्देशमा खामेनीले इजरायल र अमेरिकासँग भएको पछिल्लो युद्धमा इरानले विजय हासिल गरेको दाबी गरे। उनले इरानी जनतालाई विजयको बधाई दिँदै, इरानी क्षेप्यास्त्र र आधुनिक हतियारहरूले इजरायलको बहु-स्तरीय रक्षा प्रणालीलाई पार गरेर आक्रमण सफल बनाएको बताए।

खामेनीले इजरायललाई चेतावनी दिँदै भने, “इरानविरुद्ध गरिएको कुनै पनि आक्रमण निकै महँगो पर्छ भन्ने कुरा अब इजरायललाई राम्ररी थाहा भइसकेको छ।”

लगातार १२ दिनसम्म चलेको द्वन्द्वपछि, इरान र इजरायलबीच मंगलवार युद्धविराममा सहमति भएको छ।