काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ५० दिनभित्र युक्रेनसँग युद्धविराम नगरे कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि रुसले त्यसप्रति औपचारिक प्रतिक्रिया जनाएको छ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ट्रम्पको चेतावनीप्रति प्रश्न उठाउँदै भने, “५० दिनभित्रको समयसीमा दिनुको अर्थ के हो? यसअघि पनि २४ घण्टा वा १०० दिनका समयसीमा तोकिएको थियो। हामी यी सबै देखिरहेका छौँ र ट्रम्पको आशय बुझ्न चाहन्छौँ।”
रुसी सरकारी समाचार संस्था तास अनुसार, लाभरोभले ट्रम्प युरोपेली संघ र नेटोको दबाबमा रहेको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निरन्तर समर्थन भइरहेको आरोप लगाए। उनका अनुसार, पश्चिमी मुलुकहरूले जेलेन्स्कीलाई हतियार आपूर्ति गरिरहेकाले त्यसको भार उनीहरूकै करदातामा पर्न थालेको छ।
लाभरोभले रूस पहिल्यैदेखि ‘अभूतपूर्व प्रतिबन्धहरू’को सामना गरिरहेको बताए। साथै, कुनै पनि नयाँ प्रतिबन्धहरूविरुद्ध लड्न तयार रहेको विश्वाससमेत व्यक्त गरे।
अमेरिकी राजनीतिमा फेरि सक्रिय भएका ट्रम्पले हालै एक सार्वजनिक कार्यक्रममा रुसविरुद्ध आर्थिक नीतिमा कडाइ गर्ने धारणा राखेका थिए। उनले ५० दिनभित्र रुसले युक्रेनसँग युद्धविराम नगरे थप कडा भन्सार नीति लागू गर्ने बताएका थिए।

