share 251 काठमाडौं । जेन–जी आन्दोलनका अगुवा दाबी गर्ने सुदन गुरूङ नेतृत्वको समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। मन्त्रिपरिषद् विस्तारबारे आफूहरूसँग सल्लाह नगरेको भन्दै उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत माग गरेका छन्। प्रदर्शनमा आन्दोलनका घाइते र मृतकका आफन्तहरू समेत सहभागी थिए। प्रदर्शनका क्रममा गुरूङले आक्रोश व्यक्त गर्दै भने, “हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन।” उनले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयमा नियुक्त गरिएको भन्दै असन्तुष्टि जनाए। यसैबीच प्रधानमन्त्री कार्कीले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालय, रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिसकेकी छन्। अर्याल अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर गरेर चर्चित बनेका हुन् भने खनाल उच्चस्तरीय आर्थिक सुधार आयोगमार्फत सरकारलाई ठोस सुझाव दिने पूर्वअर्थसचिव हुन्। घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहँदा मुलुकलाई लोडसेडिङमुक्त बनाएका कारण लोकप्रिय बनेका थिए। जेन–जी आन्दोलनको दबाबपछि केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। पदबहालीसँगै उनले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते निर्वाचनको घोषणा गरिसकेकी छिन्। पोस्टको नेभिगेसन प्रधानमन्त्री ओलीले दिए राजीनामा संसद् भवनको वाणिज्य बैंकबाट १८ किलो सुनसहित ३८ करोड लुटपाट