काठमाडौं । जेनजीले गरेको भदौ २३–२४ को प्रदर्शनका क्रममा संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट करिब ३८ करोड बराबरको लुटपाट भएको खुलासा भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलका अनुसार उक्त शाखाबाट ५ करोड नगद र १८ किलो सुन चोरिएको हो।

गभर्नरले पडकास्टमार्फत घटनाबारे बताउँदै यसलाई ‘सिरियस चोरी’ भनेका छन्। प्रारम्भिक अनुसन्धानमा शाखाको लकर तोडफोड गरी नगद र सुन लुटिएको पुष्टि भए पनि संलग्नहरू अझै पक्राउ परेका छैनन्। राष्ट्र बैंक र प्रहरीले सीसीटीभी फुटेजमार्फत अनुसन्धान जारी राखेको छ।

पौडेलले अन्य बैंक शाखा र एटीएममा क्षति भए पनि रकम लुटपाट संसद् भवनकै शाखामा मात्र सफल भएको स्पष्ट पारे। उनले भाटभटेनी सुपरस्टोरमा समेत ठूलो क्षति भएको अनुमान गर्दै वित्तीय क्षेत्रलाई अझै सुरक्षित बनाउन कदम चालिनुपर्ने बताए।

राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्र रमण खनालले शाखामा भएको क्षतिबारेको अनुसन्धान अन्तिम चरणमा पुगेको र चाँडै आधिकारिक विवरण सार्वजनिक हुने जानकारी दिए।