काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न प्रहरी र सशस्त्र प्रहरी युनिटहरूबाट ठुलो संख्यामा हतियार लुटपाट भएको तथ्याङ्क सार्वजनिक भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार करिब ११ सय थान हतियार प्रहरीबाट र करिब ४० थान हतियार सशस्त्र प्रहरीबाट लुटिएको पाइएको छ।

प्रदर्शन नियन्त्रण बाहिर गएपछि भदौ २४ गतेदेखि देशका विभिन्न भागमा आक्रोशित समूहहरूले प्रहरी युनिटहरू लक्षित गर्दै लुटपाट र आगजनी गरेका थिए। प्रहरी प्रधान कार्यालयले डीआईजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरी लुटिएका हतियारहरूको विवरण संकलन गरिरहेको छ।

प्रहरीबाट लुटिएका हतियार
प्रहरीका अनुसार काठमाडौं उपत्यकासहित देशभरका युनिटहरूबाट एसएलआर, पेस्तोल, ग्याँस गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नम लगायतका हतियार लुटिएका छन्। हालसम्म १६० थान हतियार भेटिएको र केही आगजनीका कारण नष्ट भएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए।

सशस्त्र प्रहरीमा पनि ठूलो क्षति
सशस्त्र प्रहरीको मिनभवनस्थित बेस र झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा खटिएका टोलीबाट समेत करिब ४० थान हतियार लुटिएको पुष्टि भएको छ। मिनभवनबाट मात्रै करिब २० थान एसएलआर र सटगन हराएको बताइएको छ। हालसम्म करिब १५–२० थान हतियार फिर्ता भएको सशस्त्र स्रोतले जनाएको छ।

जेनजी आन्दोलनकै क्रममा नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटीस्थित मन्त्री क्वार्टर वरपर पार्किङमा रहेका ५० भन्दा बढी सशस्त्र प्रहरी सवारीसाधनमा आगजनी गरिएको थियो।

बरामदको तथ्याङ्क
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म सेना र सुरक्षाकर्मीहरूले २६८ नाल हतियार बरामद गरिसकेका छन्। तर अझै ठूलो संख्यामा हतियार बेपत्ता छन्।

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले हतियार लुटपाटलाई गम्भीर चुनौतीका रूपमा लिँदै दोषीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।



