काठमाडौं । गृहमन्त्री ओमप्रकाश शर्माले देशमा रहेका ठूला भ्रष्टाचार प्रकरणमा ठोस कारबाही नगरी निष्पक्ष चुनाव सम्भव नहुने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले जनताको विश्वास पुनःस्थापना गर्न भ्रष्टाचारीविरुद्ध कठोर कारबाही अपरिहार्य भएको बताए।

‘भ्रष्टाचारको जरो उखेलेर मात्र निष्पक्ष र विश्वसनीय चुनावी वातावरण तयार गर्न सकिन्छ,’ उनले भने, ‘भ्रष्टाचारीमाथि कानूनी कारबाही नगरी चुनावको तयारी गर्नु जनतासँग ठट्टा गर्नु हो।’

उनले अघिल्ला सरकारले भ्रष्टाचार नियन्त्रणका विषयमा देखाएको कमजोरीप्रति आलोचना गर्दै वर्तमान सरकारले शून्य सहनशीलताको नीति अपनाउने बताए। ‘अब कसैलाई पनि दण्डहीनता र राजनीतिक संरक्षणमा उम्किन दिइने छैन,’ मन्त्री शर्माले जोड दिए।

उनका अनुसार निर्वाचन सुरक्षाका तयारी थालिएको छ र जनताको विश्वास जित्न पारदर्शिता, जवाफदेहिता र राजनीतिक इच्छाशक्ति अनिवार्य छ।