काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्दै उनले आकस्मिक परिस्थितिमा तत्काल परिचालन हुनसक्नेगरी सतर्कता अपनाउन आग्रह गरे।
निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सीमित स्रोतसाधन र तालिमको कमी हुँदाहुँदै पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा गरेको कार्य प्रशंसनीय रहेको बताए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहले धन्यवाद ज्ञापन गरे भने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषकुमार भट्टराईले विपद् घटना, मनसुन पूर्वतयारी, प्रतिकार्य योजना र आगामी रणनीतिबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए।

