काठमाडौं । गाजामा जारी संघर्षबीच हमासले सबै बन्धक रिहा गर्न सहमति जनाएको छ। यसले बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे पनि छिट्टै जानकारी आउने आशा बढाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि हमासले युद्धविरामको प्रस्ताव स्वीकार गरेको हो। हमासले ४८ बन्धक रिहा गर्न तयार रहेको बताएको छ, तीमध्ये २० जना जीवित रहेको दाबी गरिएको छ।

युद्धविराम लागू भएपछि ७२ घण्टाभित्र बन्धकहरू रिहा गरिनेछ। बदलामा २ हजारभन्दा बढी प्यालेस्टिनी बन्दी र गाजामा मारिएका नागरिकको शव फिर्ता गरिने योजना छ।

इजरायलले पनि आफ्नो आक्रमण रोक्ने तयारी गरेको छ र आवश्यक परे मात्र कारबाही गर्ने जनाएको छ।

विपिन जोशी सन् २०२३ अक्टोबरमा गाजामा बेपत्ता भएका थिए। बन्धक रिहा भएपछि उनको अवस्थाबारे थप विवरण सार्वजनिक हुने विश्वास गरिएको छ।