फाइल तस्बिर

लेबनान । हिजबुल्लाहले लेबनानबाट उत्तरी इजरायलमा दर्जनौँ रकेट प्रहार गरेको जनाएको छ । हिजबुल्लाहले मंगलबार इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमान्डरको मृत्युको प्रतिक्रिया स्वरूप यो हमला गरेको हो ।

मङ्गलबार इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमान्डर तालेब अब्दुल्लाहसहित चार जनाको मृत्यु भएको थियो । इजरायल र हिजबुल्लाहबिचको आठ महिना लामो भिडन्तमा मारिएका अब्दुल्लाह हिजबुल्लाहका सबैभन्दा वरिष्ठ कमान्डर हुन् । हिजबुल्लाहका अनुसार यी रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी प्रहार गरिएको हो । यता इजरायली सेनाले लेबनानी पक्षबाट करिब ९० रकेट प्रहार गरिएको जनाएको छ ।

इजरायलले अधिकांश रकेट हावामा नै नष्ट गरेको दाबी गरेको छ । इजरायलका अनुसार विभिन्न ठाउँमा रकेटहरू खसेकाले ती ठाउँमा आगो लागेको छ । गाजामा इजरायल र हमासबिच युद्ध चलिरहेको छ । हिजबुल्लाहले युद्ध सुरु भएदेखि नै लेबनानबाट इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ।