वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अवैध बन्दुक मामिलामा छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएको छ । अमेरिकामा अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार राष्ट्रपतिलाई छ । बाइडेनको छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

गत हप्ता सङ्घीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलो पटक यस मुद्दामा प्रतिक्रिया दिएको थियोे । लागुऔषधको कुलतबाट छोरा मुक्त भएको भन्दै हन्टरप्रति गर्व रहेको पनि उनले बताएको थियो । अहिले छोरा धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको उनको भनाइ छ । जी-७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय कम गर्न कदम चाल्छन् कि चाल्दैनन् भनेर सोधेको थियो । ‘म यस विषयमा सन्तुष्ट छु कि म यसबारे केही गर्ने छैन ।

बाइडेनले भने, ‘मैले भनिसकेको छु कि जुरीले जे निर्णय गर्छन् मलाई त्यो स्वीकार छ । म यसमा कायमै छु र म हन्टरलाई माफ गर्ने छैन ।’  हन्टर बाइडेनलाई हालै लागुऔषध लिएको र बन्दुक राखेको तीनवटा मुद्दामा दोषी ठहर गरिएको थियो । आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै बाइडेनले उनी दोषी ठहर भए भने सजाय माफी नदिने बताएको थियो ।