मस्को । इटाली र जर्मनीका नेताहरूले युक्रेनमा जारी युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगाडि सारेको प्रस्तावलाई अस्वीकार गरेको छ । युद्ध विरामका लागि पुटिनले सर्त राखेका थिए । रुस-युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न स्वीट्जरल्याण्डमा भएको शिखर सम्मेलनमा धेरै देशका प्रमुखहरु पुगेका छन् ।
शुक्रबार पुटिनले शान्ति वार्ताका लागि युक्रेनले डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिज्याबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र उसले नेटोमा सामेल हुने सपना त्याग्नुपर्ने बताएका थिए । ‘स्वतन्त्रता, सार्वभौमसत्ता वा क्षेत्रीय अखण्डतामा कुनै सम्झौता हुँदैन ।’ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सेना प्रमुख एन्ड्री येर्माकले बीबीसीलाई भनेका छन् । यस कार्यक्रममा ९० भन्दा बढी देश र विश्वव्यापी संस्थाहरू सहभागी भएका छन् । युक्रेनमा रुसी आक्रमणपछि आयोजना गरिएको यो सबैभन्दा ठुलो समारोह थियो ।