मकवानपुर । मकवानपुर प्रहरीले हत्या मुद्दाका एक फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ स्थित नयाँ गाउँका ६१ वर्षीय सन्तबहादुर वाइबालाई पक्राउ गरिएको हो ।

हत्या अभियोगमा सर्वोच्च अदालतबाट १६ वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाइएका वाइबालाई २० वर्षपछि पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । अदालतले कैद र दण्ड-जरिवाना तोकिएका, तर फरार रहेका अभियुक्तहरूको खोजी गर्ने क्रममा वाइबालाई घरबाटै पक्राउ गरिएको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार वाइबाले ३ जेठ ०६१ मा काठमाडौं महानगरपालिका-३५ का ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई कुटपिट गरी निजको साथमा रहेको नगद ५० हजार लुटेर भिरबाट लडाइ हत्या गरी फरार भएका थिए ।

 

तरकारी व्यापारको निम्ति मार्खु आएका वेला वाइबाले पराजुलीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । वाइबालाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७० मा कैद र जरिवानाको सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०८०/८१ को ११ महिनामा दुई सय ३७ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेका दुई सय ३९ जना फरार अभियुक्तमध्ये एक सय ९७ जना पुरुष र ४१ जना महिला छन् ।

 

उनीहरूबाट प्रहरीले एक सय आठ वर्ष चार महिना २९ दिन कैद र ३९ लाख ३२ हजार रुपैयाँ असुली गरेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।