काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको छ । असार १९ गते बिहान बोलाएको केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको हो ।
उनले भने, ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही भन्नुभएको छैन ।’ बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने एजेन्डा रहेको छ ।
गत बुधवार उनले एक महिने (जेठ ६ गतेदेखि असार ५ गतेसम्म) अभियानमा ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।