काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रक्रियामा जाने तयारी गरेको छ  ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए ।

दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ती सदस्यको भनाइ छ । ती सदस्यले भने, ‘कसैले हतार गर्दैमा सरकार बनिहाल्ने भन्ने हुँदैन सरकार बन्ने पनि प्रक्रिया होला। उहाँहरूको हतारो देख्दा हाँसो लागिरहेको छ । प्रधानमन्त्रीज्यूले पनि संविधान अनुसार ३० दिनभित्रमा विश्वासको मत लिन पाउनु हुन्छ ।’

कुनै दलले समर्थन फिर्ता नलिएको अवस्थामा राजीनामा दिनु जरुरी नरहेको उनको भनाइ रहेको छ । उनले भने, ‘राजीनामा दिएर मार्ग प्रशस्त गर्नु भनेर केही साथीहरुले भनेको सुनेको छु। तर विधि प्रक्रिया र संविधान मिच्नु राम्रो कुरा हैन।’

माओवादी पदाधिकारीले पनि दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै के गर्ने भन्ने प्रक्रिया सुरु हुने बताए । राजीनामा दिनु भनेर कसैले हतार गर्नु जरुरी नरहेको भन्दै ती पदाधिकारीले विधि र प्रक्रियाअनुसार अघि बढ्ने बताए ।