काठमाडौं । बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाउने तयारी गरेका छन् । कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन् ।

काठमाडौंमा रहेका मुख्मन्त्री जम्कट्टेल प्रदेशको राजधानी हेटौँडा आउनेबित्तिकै राजीनामा बुझाउने एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए । ‘मुख्यमन्त्री काठमाडौंमा हुनुहुँदोरहेछ । उहाँ आउनेबित्तिकै राजीनामा बुझाउँछौँ र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौँ,’ उनले भने, ‘नयाँ गठबन्धनको स्पिरिटअनुसार नै बागमतीमा पनि नयाँ सरकार बन्छ।’

नेता थपलियाले आफूहरू मुख्यमन्त्रीको पर्खाइमा रहेको र मुख्यमन्त्री आजभोलि नै आउने कुरा सुनेको जानकारी दिए । नेता थपलियाले केन्द्रको निर्देशनअनुसार नै बागमतीमा नयाँ सरकार गठन हुने पनि बताए । बागमतीमा कांग्रेसको नेतृत्वमा सरकारमा जाने कुरा भइरहेको उनको भनाइ छ । नेता थपलियाले नयाँ सरकार गठन कहिले हुन्छ भन्ने कुरामा भने मुख्यमन्त्री जम्कट्टेलमा भर पर्ने बताए । मुख्यमन्त्रीले तत्काल राजीनामा दिए नयाँ सरकार तत्कालै बन्ने, तर विश्वासको मत फेस गर्न चाहेमा भने नयाँ सरकार बन्न केही समय लाग्ने उनको भनाइ छ।

राजीनामा कि विश्वासको मत, छलफलपछि टुंगो लाग्छ : मुख्यमन्त्री जम्कट्टेल 
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेबाहेकका सत्तासाझेदार दलहरूसँग छलफल गरेर अगाडि बढ्ने बताएको छ । उनले एमालेका मन्त्रीहरूले समर्थन फिर्ता लिएर राजीनामा दिएपछि कसरी अगाडि बढ्ने भन्ने कुरामा अरू सत्तासाझेदार दलहरूसँग छलफल गर्ने बताए ।

मुख्यमन्त्री जम्कट्टेलले तत्काल राजीनामाभन्दा पनि विश्वासको मत फेस गर्न उपयुक्त हुने उल्लेख गरे । ‘एमालेका साथीहरूलाई मन्त्रीबाट राजीनामा बुझाउन हतार छ । म काठमाडाैंबाट एक-दुई दिनमै फर्किन्छु । उहाँहरूले राजीनामा दिएपछि कसरी अगाडि बढ्ने हो भन्ने कुरामा अन्य सत्तासाझेदार दलहरूसँग छलफल गरेर टुंग्याउँछौँँ,’ उनले भने ।