जुलाई १९ देखि हुने महिला एशिया कप प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र युएईसहित समुह ए मा रहेको छ । एशिया कप अघि नेपाली महिला टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट टिमसँग जुलाई १६ मा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।
इन्दु बर्माको कप्तानीमा एशिया कप खेल्न १५ खेलाडी छानिएको छ । जसमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन् ।
महिला एशिया कप जुलाई १९ देखि जुलाई २८ सम्म श्रीलंकाको डाम्बुलामा हुने भएको छ । प्रतियोगिताको यो संस्करणमा आठ देश सहभागी हुने छन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो ।
एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन जुलाई १९ मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्वजनिक गरेको छ ।