पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका-३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा नं. ४ का कमल थापा रहेका छन् । जुम्लाको पातारासी गाउँपालिका-३ महरीगाउँको चनेलेखनजिकको पाटनबाट हतियारसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट तीन जनाको संलग्नता देखिएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको उनले बताएका छन् । गत जेठ १४ गते कार्मारोङ गाउँपालिका-१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएको मौकामा आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ घर र एक गुम्बाबाट ३५ तोला सुन, नौ सय ९४ तोलाभन्दा बढी चाँदी, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, ९५ तोला मुगाको माला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको भनेर स्थानीयले उजरी गरेका थिए । घटनाको एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट सेनाको पोशाक पनि बरामद गरिएको छ । यस्तै, सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान जुम्ला प्रहरीमार्फत बरामद गरेको छ ।
प्रहरीका अनुसार तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनमा पुगी यस समूहले यार्सा सङ्कलन तथा व्यापारीबाट यार्सागुम्बा लुट्दै आएको थियो ।