काठमाडौं । गत महिना मुगु सदरमुकाम गमगढीबाट ३ दिनको पैदल दुरीमा पर्ने मुगुम कार्माराङ गाउँपालिका-१ स्थित डोल्फु गाउँमा लुटपाट भएको थियो । गत जेठ १२ मा लुटेरा समुहले एसएलआर (सेल्फ लोडिङ राइफल) पड्काएर कुकुर मारेर सिङ्गो गाउँ नै लुटेर भागेका थिए ।
उक्त गाउँको २४ वटा घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी अधिकृतहरू बताए । लुटेरासँग प्रतिकार गर्न सक्ने युवाहरू यार्सागुम्बा टिप्न गएका थिए । गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै भएको समयमा ९९५ तोला चाँदी, ५० लाख २५ हजार नगद र मुगा माला लुटेर आरोपीहरू भागेको बताएको छ ।
घटना भएको महिना दिनपछि इन्स्पेक्टर भरत केसी नेतृत्वको टिमले लुटमा संलग्न ३ जनालाई पक्राउ गर्न सफल भएको छ । लुटपाटमा संलग्नमध्ये एकजना माओवादी सेनाका पूर्व लडाकु हुन् । जुम्लाको गुठिचौर गाउँपालिका-३ घर भएका गणेश भण्डारी उर्फ आक्रोशले आफू पहिले जनमुक्ति सेनामा काम गरेको प्रहरीलाई बताएको छ । आक्रोशले दाबी गरेअनुसार पुष्टि गर्ने प्रयासमा जुटेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । पक्राउ पर्नेमा जुम्ला गुठीचौर-३ घर भएका पूर्णप्रसाद भण्डारी र वडा नम्बर-४ घर भएका कमल थापा छन् । लुटेराहरूको साथबाट प्रहरीले १ थान एसएलआर, २५ राउन्ड गोली र एउटा कटुवा पेस्तोल बरामद गरेको छ ।
लुटमा प्रयोग गरिएको एसएलआर अर्का एक जना पूर्व लडाकुसँग खरिद गरेको उनीहरुले प्रहरीलाई बताएका छन् । प्रहरीले दुई वटा म्यागेजिन, ३ थान सञ्चार सेट, एक थान बाइनाकुलर र ५ सेट आर्मीको कम्याट पनि बरामद गरेको छ । एसएलआर १० वर्षे सशस्त्र विद्रोहमा प्रयोग भएको हतियार भएको आशङ्का गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको मुगुका डीएसपी वीरेन्द्र थापाले बताए ।