सो पार्टीका संयोजक ‘किरण’ले सोमबार विज्ञप्ति जारी गर्दै देश र जनताको समस्या समाधान गर्न नभएर साम्राज्यवाद र विस्तारवादले आफ्नो स्वार्थ पूरा गर्न काङ्ग्रेस-एमाले गठबन्धनले संविधान संशोधनको एजेन्डा उठाएको जिकिर गरेको छ । ‘त्यसकारण समस्याको समाधान यो संविधानको संशोधन होइन, यसको पूर्ण खारेजी र त्यसका ठाउँमा जनगणतान्त्रिक संविधान निर्माण हो,’ किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
अहिलेको राजनीतिक अस्तव्यस्तता कुनै एउटा अमुक संसदवादी पार्टी वा गठबन्धनको असफलताको कारणले पैदा भएको नभएर प्रतिक्रियावादी सत्ता तथा संसदीय व्यवस्थाको असफलताको परिणाम रहेको संयोजक किरणको ठहर छ । ‘त्यसकारण, देश र जनताले विगतदेखि निरन्तर भोग्दै आएका समस्या आज एउटा गठबन्धनका ठाउँमा अर्को गठबन्धन खडा गरेर समाधान हुन सक्दैन,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘त्यसमाथि, संसद्मा पहिलो र दोस्रो स्थानमा रहेका संसदवादी राजनीतिक दलहरूका बिचमा बनेको नयाँ गठबन्धन संसदीय व्यवस्थाको आम मान्यता विपरीत मात्र छैन, यसले आउने दिनमा देशलाई थप फासीवादको दिशामा लैजाने कुरा प्रस्ट गरेको छ ।’
जोसँग र जस्तोसुकै गठबन्धन गरेर भए पनि सत्तामा पुग्नै पर्ने नेपाली संसदीय राजनीतिले भ्रष्टाचारलाई संस्थागत गर्ने, देशलाई थप कङ्गाल र अझ बढी परनिर्भर बनाउने कुरामा कुनै शङ्का नरहेको उनले विज्ञप्तिमा भनिएको छ ।