काठमाडौं । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन भड्किदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ ।
बंगलादेशमा जारी आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् ।
आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । तर, कर्फ्युकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । आन्दोलन नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ ।
बंगला देशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् ।

