बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणको लागि चीन पुगेको छ । दुई दिने भ्रमणको क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट वार्ता गरेको छ ।
वर्तमान अवस्थामा पुटिन र सीबिच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले नियाली रहेका छन् । रुस र चीनबिचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङबिचको भेटमा छलफल हुने बताइएको छ । दुई वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबिच युद्ध चलिरहेको छ । यस युद्धको कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् । तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगीको भुमिका खेलिरहेको अमेरिका लगायत पश्चिमाहरुका बुझाइ रहेको छ ।
चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको अमेरिका र पश्चिमाहरुले आरोप लगाउदै आएको छ । जसका कारण चीनमाथि पनि दबाब बढिरहेको छ । चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना भने गरेको छैन ।