share 284 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक धुलो उपहार पठाउने घोषणा गरेको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री महासेठलाई उनलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा गरेको हो । मेयर शाहले स्टाटससँगै सडक विभाग अन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा एक ट्रक धुलो फ्याँकिएको भिडियो समेत सार्वजनिक गरेको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्: माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौँको जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौँमा हुने आधा भन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलो धुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईँ काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नुहोला । पोस्टको नेभिगेसन काठमाडौंका यी स्थानहरुमा विद्युत् सेवा अवरुद्ध हुने, यस्तो छ कारण एकाबिहानै देउवा भेट्न बुढानिलकण्ठ किन पुगे प्रचण्ड ?