काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेको हो ।
देउवाको स्वास्थ्यमा समस्या देखेपछि प्रधानमन्त्री त्यहाँ पुगेको बताइएको छ । सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढेको बेला यही बिच दुई शीर्ष नेताबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुंगो लाग्न सकेको छैन । शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलहरु टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो ।
कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई दिएको छ । शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्ग्याउने बताइएको छ । संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने भन्दै गत चैत २ गतेदेखि कांग्रेसले लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ । यो बीचमा कांग्रेसले संसद्मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न समय दिए पनि त्यसमाथि छलफल नसकेको हो ।
जेठ १५ अघि सत्तापक्ष र काङ्ग्रेसबिच सहमति नभएमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने संसदीय अभ्यासमा प्रभाव पर्ने देखिएको छ ।
#देउवा प्रचण्ड
#सहकारी ठगी प्रकरण
