काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको लागि संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल कांग्रेसले आज दिउँसो २ बजे भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम कांग्रेसले प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा निर्वाचन क्षेत्रमा १५ जना केन्द्रीय प्रतिनिधि समेत खटाइ सकेको छ । पहिलो चरणमा आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागिएको हो ।
अर्बौँ रुपैयाँ सहकारीको बचत रकम दुरुपयोग प्रकरणमा मुछिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न सरकार नमानेको निष्कर्षसहित कांग्रेस आन्दोलनमा होमिएको हो । आजको प्रदर्शनमा कांग्रेसले गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनुका साथै सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने समेत जनाएको छ ।
गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार सँझ राँके जुलुस निकालेको थियो ।