काठमाडौं । काठमाडौंको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार नुवाकोटको शिवपुरी गाउँपालिका-२ छाप घर भइ हाल काठमाडौंको बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर परिवर्तन गरी लु ७८ प ६७ ५८  नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित रविन्द्रलाई हिजो दिउँसो ट्राफिक प्रहरीले फेला पारेको थियो । रविन्द्रमाथि अनुसन्धान गर्दा उक्त मोटरसाइकल कृष्ण नामक व्यक्तिबाट लिएको भनी खुल्न आएपछि काठमाडौंको कपनबाट कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा आएका दुबै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए  । 

बागमती प्रदेश-०२-०३२ प ९५ ७१ नम्बरको कालो रंगको २२० सि.सि.को पल्सर मोटरसाइकल काठमाडौंस्थित टोखा नगरपालिका-१० महादेवटारबाट हराएको भनि धर्मेन्द्र राईले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएको थियो ।