काठमाडौं । मोटरसाइकल चोरीको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेको छ । बिहीबार ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-२ घर भई हाल काठमाडौँंको अनामनगर बस्ने २२ वर्षीय  विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ घर भई कपन बस्दै आएको २६ वर्षीय नवीन शाही, सोही गाउँपालिका-५ घर भई हाल कपन बस्ने ३० वर्षीय रमेश बम र कालिकोटको रास्कोट नगरपालिका-५ घर भई नयाँ बानेश्वर बस्ने मुकुन्द शाही रहेका छन् ।

ट्राफिक प्रहरीले काठमाडौंको पद्मोदय मोडबाट विशाललाई बिहीबार नियन्त्रणमा लिएको थियो । वास्तविक नम्बर परिवर्तन गरी लु ६८ प ०९ ४३ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । विशाललाई सोधपुछ गर्दा उक्त मोटरसाइकल नवीनले दिएको खुलेपछि ३ जना पक्राउ परेका थिए । से ५ प ८० ३८ नम्बर राखी चलाइरहेको अवस्थामा चालक रमेशसहित पछाडी सवार नवीनलाई काठमाडौंको भृकुटी मण्डपबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।  उनीहरुले ०९४३ नम्बरको मोटरसाइकल मुकुन्दले उपलब्ध गराएको बताएका थिए । मुकुन्दलाई काठमाडौंको बानेश्‍वरस्थित खरिबाेटबाट पक्राउ गरेको थियो ।

 

विशालले चलाएको ०९४३ नम्बरको मोटरसाइकलको वास्तविक नम्बर मधेस प्रदेश ०३-०२५ प ७७ ९६ नम्बरको मोटरसाइकल काठमाडौंको काँडाघारीबाट हराएको र रमेशले चलाएको ८०३८ मोटरसाइकलको वास्तविक नम्बर बाग्मती प्रदेश ०२-०३४ प ८१ ४५  हाे । उक्त मोटरसाइकल ललितपुरबाट हराएको भनी पीडितले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएको थियो ।

नियन्त्रणमा लिइएका चारै जनालाई अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार प्रहरी वृत्त नयाँ बानेश्‍वर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिएको छ ।