काठमाडौं । गएराती सुनसरीबाट सशस्त्र प्रहरीले १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरी जिल्लाको  हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाई छिपाइ राखेको अवस्थामा उक्त रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसँगै कार र  चालक सुनसरी जिल्ला  हरिनगर गाउँपालिका-५  बस्ने अन्दाजी बर्ष ३७ का ईसा अन्सारीलाई समेत  नियन्त्रणमा लिइएको छ । प्रारम्भिक सोधपुछमा उनले उक्त रकमको श्रोत खुलाउन सकेका छैन । सो रकम हुन्डीको कारोबारको आशङ्का गरिएको छ ।

नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रिया थालिएको सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।