काठमाडौं । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेको छ । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिन लागेको हो ।

 

समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरूलाई निमन्त्रणा पठाइएको छ । मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारतको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेको थियो ।

 

हालै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । प्रधानमन्त्री मोदीले बुधबार नै राजीनामा दिईसकेको छ । भारतमा अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताइएको छ । सम्भवतः मोदीले आज नै सरकार गठनको दाबेदारी गर्ने सम्भावना रहेको छ ।