सांकेतिक तस्बिर

काठमाडौं । मकवानपुरस्थित बकैया खण्डमा निर्माण हुँदै गरेको द्रुतमार्गमा पर्ने सुरुङमार्गमा काम गर्दै आएका एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो मकवानपुरको बकैया-१२ स्थित चालिसेडाँडामा काठमाडौं निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २८ वर्षीय विमल थिङको ज्यान गएको प्रहरीले जनाएको छ । उनीसँगै काम गर्ने तनहुँका अन्दाजी २८ वर्षीय राजु विक गम्भीर घाइते भएको हो ।

थिङको घटनास्थलमै ज्यान गएको र गम्भीर घाइते विकको हेटौँडा-११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।