काठमाडौं । सिमलतालको पहिरोमा परि त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बस खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक हराएको छ । खोजको क्रममा चुम्बक त्रिशूलीमा हराएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।

भारतीय प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका हुन् । शनिवार साँझ चितवनको भरतपुर महानगरपालिका-२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएको तर, गोताखोर पुगेर हेर्दा बस नभएको पुष्टि भएको छ । त्रिशूलीको बिच भागमा देखिएको बस्तु बस नभएको डीआईजी केसीले जानकारी दिए । उनले भने, ‘स्थानीयले बस हुनसक्ने भनेर खबर गरेका थिए तर, त्यो पुष्टि भएन ।’

असार २८ मा काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स हालसम्म बेपत्ता छन् । दुवै बस त्रिशूलीमा खसेका थिए । बसमा सवार २५ जनाको शव भेटिएको छ ।