काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५० ग्रामको दुई वटा सुनको सिक्रीसहित दुई जना पक्राउ परेको छ । विमानस्थलको पार्किङ क्षेत्रबाट दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-५ की ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ का २२ वर्षीय नारायण थापा रहेको छन् ।

एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा सुन संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको प्रहरीले जनाएको छ।