जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन  सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि  यातायातका साधन पुनः सञ्चालन भएका हुन् । हेटौँडा-पालुङ-नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् ।

बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न  सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । हेटौँडा-काठमाडौं जोड्ने सडकअन्तर्गत हेटौँडा-भैँसे-रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ । 

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका-६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका-२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उनले जानकारी दिए। 

दक्षिणकाली-फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुईवटा  मेसिन चलाइएको छ ।