पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिने भएको छ । प्रहरीले बिहान ५ः४० बजे नै लामिछानेलाई एयरपोर्ट पुर्याएको हो । हुस्सुका कारण उडान प्रभावित भएकोले उनलाई एयरपोर्टमै राखिएको छ ।
लामिछानेलाई आज नै बयान सकाएर कास्की फर्काउने प्रहरीको तयारी रहेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।